सामाजिक संजाल:

जसपाबाट मन्त्री बन्नेको टुंगो लाग्यो

जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ । 

जसपाबाट प्रदीप यादव  र नवलकिशोर साह सुडी मन्त्री बन्ने भएका छन् । 

जसपाका महासचिव इस्तियाक राईका अनुसार यादवले खानेपानी र सुडीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको शपथ लिने टुंगो लागेको हो ।

यादव पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए भने सुडी वन तथा वातावरणमन्त्री बनेका थिए । राजीनामा गरेर उनीहरू प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएका थिए । अशोक राई नेतृत्वको जसपाले दुईवटा मन्त्रालय लिएर केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका नेकपा (एमाले)का अध्यक्ष ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने कार्यक्रम छ । 

यसअघि राष्ट्रपति पौडेलले आइतबार संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । 

ओलीको यो चौथो कार्यकाल हो । यसअघि २०७२, २०७४ र २०७८ मा गरी ओली तीनपटक प्रधानमन्त्री भएका थिए । असार १७ गते राति नेपाली कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने सहमति गरेका थिए ।