सामाजिक संजाल:

सुर्खेत होराइजन एकेडेमीमा स्पोर्ट मिट २०८२ सुरु

सुर्खेत । सुर्खेत होराइजन एकेडेमी, वीरेन्द्रनगर–३ गण्डकीलाइनले एनुअल स्पोर्ट मिट २०८२ को शुभारम्भ गरेको छ। विद्यार्थीको शैक्षिक विकाससँगै शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले एकेडेमीले हरेक वर्ष स्पोर्ट मिट आयोजना गर्दै आएको हो।

एक सातासम्म सञ्चालन हुने स्पोर्ट मिटमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरू चार हाउसमा विभाजन भई विभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाउने छन्।

स्पोर्ट मिटको उद्घाटन सत्रमा हाउसगत टोलीहरूले शोभायात्रा तथा मार्चपास प्रस्तुत गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका पूर्वमुख्य न्यायाधिवक्ता तथा विद्यालय सञ्चालक समितिका सल्लाहकार ध्रुवकुमार श्रेष्ठले खेलकुदले देशको पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले खेलाडी उत्पादनको आधार विद्यालय नै भएकाले अध्ययनसँगै खेलकुदमा समेत चासो दिन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा एकेडेमीका उप–प्रधानाध्यापक सन्तोष शर्माले स्पोर्ट मिटमा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

विद्यालयका प्रिन्सिपल घनश्याम खड्काले शैक्षिक पात्रोअनुसार हरेक वर्ष विद्यार्थीको व्यक्तित्व विकासका लागि खेलकुद सप्ताह आयोजना गर्दै आएको जानकारी दिनुभयो। उहाँले जित–हारमा मात्र सीमित नभई खेलकुदमार्फत आफ्ना प्रतिभा उजागर गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।