लक्ष्मण कंडेलः निवर्तमान अध्यक्ष, सुर्खेत उद्योग वाणिज्य संघ
नेपाल केवल हिमाल, पहाड र तराईको भौगोलिक संरचना मात्र होइनस यो सभ्यता, संस्कृति र सामूहिक चेतनाको निरन्तर यात्राको प्रतीक हो। यही भूमिमा सामाजिक सद्भाव, श्रमप्रतिको सम्मान, नैतिक मूल्य र आत्मनिर्भर जीवनशैलीले समाजलाई सन्तुलित बनाएको थियो। तर आज नेपाल यस्तो संक्रमणकालीन मोडमा उभिएको छ, जहाँ उपलब्धि र असफलता एकसाथ देखिन्छन् र भोलिको दिशाबारे गम्भीर प्रश्न उठिरहेका छन्।

आजको सबैभन्दा चिन्ताजनक पक्ष शिक्षा प्रणालीको विचलन हो। शिक्षा राष्ट्र निर्माणको आधार भए पनि हालको प्रणाली ज्ञान र चरित्र विकासभन्दा बढी प्रमाणपत्र उत्पादनतर्फ केन्द्रित हुँदै गएको छ। नैतिक शिक्षा, नागरिक कर्तव्य र सामाजिक उत्तरदायित्व पाठ्यक्रममै सीमित छन्। परिणामस्वरूप शिक्षित जनशक्ति त उत्पादन भइरहेको छ, तर समाजप्रति उत्तरदायी नागरिकको अभाव बढ्दै गएको छ। यसले दीर्घकालीन रूपमा सामाजिक संरचनामै असर पार्ने संकेत गर्छ।
स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो, तर व्यवहारमा यो अधिकार समान रूपमा प्रत्याभूत भएको छैन। सहरकेन्द्रित सुविधा, महँगा उपचार र ग्रामीण क्षेत्रमा आधारभूत सेवाको अभावले स्वास्थ्य क्षेत्रमा गहिरो असमानता सिर्जना गरेको छ। स्वास्थ्य क्षेत्रको बढ्दो व्यापारीकरणले सेवा भन्दा नाफालाई प्राथमिकता दिइरहेको अवस्थामा राज्यको नियामक भूमिका अझ कमजोर देखिन्छ। प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण, दक्ष जनशक्ति उत्पादन र औषधिमा आत्मनिर्भरता आजको अनिवार्य आवश्यकता बनेको छ।
पूर्वाधार विकासको क्षेत्रमा पनि दीर्घकालीन सोचको अभाव स्पष्ट देखिन्छ। योजनाविहीन विकासका कारण अव्यवस्थित सहरीकरण, वातावरणीय क्षति र सार्वजनिक जमिनमाथिको अतिक्रमण तीव्र गतिमा बढिरहेको छ। विकास केवल संरचना निर्माण होइनस त्यो सामाजिक उत्तरदायित्व र वातावरणीय सन्तुलनसँग जोडिनु आवश्यक छ। अन्यथा आजको विकास भोलिको संकटमा परिणत हुन सक्छ।
साहित्य, सृजनशीलता र सांस्कृतिक चेतनाको कमजोर हुँदै जानु पनि गम्भीर विषय हो। साहित्य समाजको आत्मा हो, जसले यथार्थ देखाउँछ र परिवर्तनको चेतना जगाउँछ। तर पछिल्ला वर्षहरूमा गहिरो चिन्तनयुक्त सृजनाभन्दा सतही मनोरञ्जन र बजारमुखी प्रवृत्ति हावी हुँदै गएको छ। यसले समाजको बौद्धिक क्षमता र आलोचनात्मक चेतनामा असर पारिरहेको छ।
सामाजिक सद्भाव र सहिष्णुताको क्षय अर्को चिन्ताको विषय बनेको छ। विविधताले भरिएको नेपाली समाजमा जातीय, क्षेत्रीय र राजनीतिक विभाजन गहिरिँदै गएको छ। फरक विचारप्रतिको सहिष्णुता कमजोर हुँदै जानु र सामाजिक सञ्जालमार्फत घृणा फैलिनु लोकतान्त्रिक समाजका लागि शुभ संकेत होइन। सामाजिक एकता बिना राष्ट्रिय प्रगति सम्भव छैन।
युवा पलायन नेपालको दीर्घकालीन चुनौतीका रूपमा उभिएको छ। स्वदेशमै रोजगारी र सम्भावना नदेखेर ठूलो संख्यामा युवा विदेशिनु व्यक्तिगत छनोट होइन, प्रणालीगत असफलताको परिणाम हो। रेमिटेन्सले अर्थतन्त्रलाई अस्थायी टेवा दिएको भए पनि यसको सामाजिक मूल्य अत्यन्तै महँगो छ। स्वदेशमै अवसर सिर्जना गर्न नसक्नु राज्यको गम्भीर कमजोरी हो।
विडम्बना के छ भने नेपाल सम्भावनाले भरिएको देश हो। कृषि, पर्यटन, जलविद्युत्, सूचना प्रविधि र साना–मझौला उद्योगमा प्रशस्त अवसर छन्। तर नीति अस्पष्टता, राजनीतिक अस्थिरता र कमजोर कार्यान्वयनले यी सम्भावनाहरू उपयोग हुन सकेका छैनन्। आत्मनिर्भरता भाषणमा होइन, नीतिगत स्पष्टता, लगानीको वातावरण र प्रभावकारी कार्यान्वयनमा देखिनुपर्छ।
परराष्ट्र नीतिमा पनि सन्तुलन र स्पष्ट दृष्टिकोण आवश्यक छ। दुई शक्तिशाली छिमेकी राष्ट्रबीच अवस्थित नेपालले आफ्नो अवस्थालाई कमजोरी होइन, अवसरका रूपमा लिनुपर्छ। पारदर्शी, राष्ट्रिय हितकेन्द्रित र दीर्घकालीन सोचमा आधारित कूटनीतिले मात्र देशलाई दीर्घकालीन लाभ दिलाउन सक्छ।
अन्ततः, भोलिको नेपाल निर्माण सरकारको मात्र जिम्मेवारी होइन। शिक्षित नागरिक, सचेत समाज र उत्तरदायी नेतृत्व बिना समृद्ध नेपाल सम्भव छैन। आज लिइने नीतिगत निर्णयहरूले भोलिको देशको दिशा तय गर्नेछ। अब आवश्यकता छ— आत्मसमीक्षा, नीतिगत सुधार र जिम्मेवार कार्यान्वयनको। नेपाललाई अब शब्द होइन, स्पष्ट दिशा र ठोस परिणाम चाहिएको छ।