सामाजिक संजाल:

वार्षिकोत्सव पूर्वसन्ध्यामा स्वास्थ्य शिविर, मुठ्ठी दान र कुर्सी दौड सम्पन्न

ब्राइटल्याण्ड सेकेन्डरी स्कूलले आफ्नो २१औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा विभिन्न शैक्षिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरू सम्पन्न गरेको छ। विद्यालयले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै शिक्षासँगै विद्यार्थी, अभिभावक र समुदायलाई प्रत्यक्ष संलग्न गराउने उद्देश्यले विविध कार्यक्रमहरू आयोजना गरेको हो।

अभिभावकहरूबीच मैत्रीपूर्ण कुर्सी दौड प्रतियोगिता समेत सञ्चालन गरिएको छ । प्रिन्सिपल माधव भण्डारीले प्रतियोगिताले अभिभावक र विद्यालयबीचको सम्बन्ध अझ प्रगाढ बनाउने बताउनु भयो। उहाँले शिक्षा केवल कक्षाकोठासम्म सीमित नहुने भन्दै यस्ता गतिविधिहरूले अभिभावक र विद्यालयबीचको सम्बन्ध बलियो बनाउनुका साथै विद्यालयमा सकारात्मक वातावरण निर्माणमा टेवा पुगेको बताउनु भयो ।

विद्यालयले बार्षिक उत्सवको अवसरमै कर्णाली केयरसँगको समन्वयमा विद्यालयमा स्वास्थ्य शिविर गरेको छ । स्वास्थ्य शिविरमा विद्यार्थी र अभिभावकको गरी २ सय बढिको चेकजाँच गरिएको प्रिन्सिपल भण्डारीले बताउनु भयो ।


त्यसैगरी, विद्यालयले मुठ्ठी दान अभियानअन्तर्गत मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेको छ। विद्यार्थीहरूलाई सामाजिक सेवाप्रति प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा विद्यार्थी तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयका अनुसार, २१औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम यही फागुन ७ गते विद्यालय परिसरमा सम्पन्न हुनेछ।