
मुटुको भल्व भन्नाले मुटुको कोठमा भएका ढोकाहरु हुन् । मुटुको एउटा कोठबाट अर्को कोठामा रगत जान त केही कुराले छुट्याउनुपर्यो र त्यो छुट्याउने चिज नै मुटुको भल्व हो । मुटुमा यी ढोकाहरु चार वटा हुन्छन् । राइट आर्टियम र राइट भेन्ट्रिकलको बीचमा एउटा भल्व हुन्छ, जसलाई ट्रिकुसपीड भल्व भनिन्छ । राइट भेन्ट्रिकल र त्यसले फोक्सोमा रगत पठाउने पल्मोनरी आर्टरी हुन्छ, त्यसमा भएको भल्वलाई पल्मोनरी भल्व भनिन्छ । त्यसैगरी देब्रेतिर पनि दुई वटा भल्व हुन्छन् । लेफ्ट आर्टियम र लेफ्ट भेन्ट्रिकलको बीचमा एउटा ढोका हुन्छ, त्यसलाई मिट्रल भल्व भनिन्छ । लेफ्ट भेन्ट्रिकलबाट महाधमनी (एओर्टा)मा रक्तसञ्चार हुनलाई जुन ढोका हुन्छ, त्यसलाई एओर्टा भल्व भनिन्छ ।
मुटुको भल्वको काम के हो ?
मुटुको भल्वहरु चाहिने बेलामा खुल्नुपर्छ र नचाहिने बेलामा बन्द हुनुपर्छ । जतिबेला मुटुका कोठाहरु रगत भरिनुपर्छ त्यसबेला यी भल्वहरु बन्द वा खुला हुनुपर्छ र जतिबेला यो रक्तसञ्चार हुनुपर्छ यी भल्वहरु बन्द हुनु वा खुल्नुपर्छ । मुटुले प्रत्येक धड्कनमा रगत पम्पभै महाधमनी र पल्मोनरी आर्टरीमा पठाउँछ । जुन बेला एओर्टामा र पल्मोनरी आर्टरीमा रगत सञ्चार हुन खोज्छ त्यतिबेला मुटु धड्कन्छ, त्यतिबेला एओर्टिक र पल्मोनरी भल्व खुल्छ । त्यतिबेला नै हाम्रो रगत फोक्सो र हाम्रो सम्पूर्ण शरीरमा जाने गर्छ । मुटुको लेफ्ट भेन्ट्रिकल र राइट भेन्ट्रिकलको कोठामा रगत भरिनलाई बीचमा भएका माइट्रो भल्व र ट्रिकुसपीड भल्वका ढोकाहरु खुल्नुपर्छ । मुटुको कोठामा जुन रक्तसञ्चार हुन्छ, त्यसलाई रोक्ने र त्यसलाई अगाडि बढ्न दिन ती ढोकाहरु बन्द हुने र खुल्ने गर्दछ ।
मुटुका भल्वहरुमा के कारणले क्षति हुन्छ ?
मुटुका भल्वहरुमा क्षति हुने एउटा कारण जन्मजात समस्या हुन्छ । जस्तैः सानोमा मुटुको भल्व बन्दा नै असामान्य बन्छ । त्यसले गर्दा मुटुको भल्व सानो हुने, कमजोर हुने र मुटुका भल्वहरुमा लिक हुने सम्भावना बढ्छ । कहिलेकाहीं जन्मजातको भल्व नै बनेको हुँदैन्, त्यसलाई हामी एर्टेसिया (Atresia) भन्दछौं । यदि कसैको जन्मदा भल्व ठिक थिए । तर, जन्मिसकेपछि आउने समस्यालाई एकवार्ड भनिन्छ जस्तैः मान्छे बढ्दै जान्छ र मुटुको बाथरोग (जोर्नी दुखाइ) हुने र वयस्क हुँदै जाँदा मुटुको भल्वमा डिजेनेरेसन हुने वा बिग्रिने हुन्छ । यो अवस्थामा मुटुको भल्वका अवस्थाहरु परिवर्तन हुँदै जान्छ । यसले पनि मुटुको भल्वहरु लिक हुने वा चुहिने (Regurgitation) र सानो वा न्यारो हुने हुन्छ ।